उपचारका लागि काठमाडौं पठाइयाे


खोटाङ – पाठेघर खसेका खोटाङका ११ महिलालाई उपचारमा पठाइएको छ। पाठेघर खस्दा लामो समयदेखि शारीरिक र मानसिक पीडा खेप्न बाध्य महिला पहिचान गरी उपचारका लागि एकैसाथ काठमाडौं पठाइएको हो। वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका दुईजना, वडा नम्बर ३ ऐसेलुखर्कका चारजना, वडा नम्बर ७ माक्पाका दुईजना, रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीका दुईजना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एकजना आङ खसेका महिलालाई उपचारमा पठाइएको हो।

केडले एकजना कुरुवासहित पाठेघर खसेका महिलालाई खाने, बस्ने, आउने–जाने भाडा तथा कम्युनिटी सपोर्ट एसोसिएसन (कोसन) नामक संस्थाले शल्यक्रियालगायत उपचारका क्रममा लाग्ने सहयोग गर्नेगरी उनीहरूलाई काठमाडौं मोडेल अस्पताल पठाएको छ। पाठेघर खसेको १५/१६ वर्ष बितेको र तेस्रो चरण पार गरिसकेको अवस्थाका महिलालाई पहिचान गरी महिला प्रजनन अधिकार कार्यक्रमअन्तर्गत उपचारमा पठाइएको केडसँगै सहकार्य गरिरहेका हलेसी विकास मञ्च खोटाङका कार्यक्रम संयोजक वीरेन्द्र मगरले बताए। उनका अनुसार समाजले थाहा पाए लाज हुने, तिरस्कार गर्ने र पाठेघर खसेका महिलालाई ‘उपनाम’ लगाएर बोलाइने भएकाले अधिकांश महिला आफ्नो समस्या लुकाउन बाध्य बनेको पाइएको छ।

पाठेघर खस्ने समस्या जुनसुकै उमेर समूहका, जुनसुकै समुदायका र जुनसुकै वर्गका महिलामा छ। बढीजसो वृद्धामा देखिए पनि यो समस्याबाट युवतीसमेत अछुतो नरहेको सर्वेक्षणले देखाएको छ।

महिला प्रजनन अधिकार कार्यक्रमअन्तर्गत केही समयअघि रावाबेंसी गाउँपालिकाको दुबेकोलका १ सय ३ घर र डुम्रेधारापानीका १ सय ६३ घरमा गरिएको सर्वेक्षणका क्रममा २० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको थियो। कार्यक्रम संयोजक मगरका अनुसार दुबेकोलका २८ जना महिलामा पाठेघर खस्ने समस्या पाइएको छ। उनीहरूमध्ये दलित ३ जना, जनजाति ११ जना र खसआर्य समुदायका १४ महिलामा पाठेघर खस्ने समस्या पहिचान गरिएको छ। यस्तै, डुम्रेधारापानीमा पहिचान भएका २१ महिलामध्ये दलितमा ६ जना, जनजातिमा ९ जना र अन्य खसआर्य समुदायमा ६ जनामा पाठेघर खस्ने समस्या पाइएको मगरले बताए।

महिलामाथि हुने सामाजिक भेदभाव र परम्परागत अन्धविश्वासका कारण धेरैजसो पाठेघर खसेका महिला उपचार गर्नुको सट्टा रोग लुकाएर पाल्न बाध्य बनेको सर्वेक्षणले देखाएको छ। अर्कातर्फ पाठेघर खसेका महिला सामाजिक र पारिवारिक हिंसा बेहोर्न पनि बाध्य रहेको पाइएको संयोजक मगरले बताए। ‘ग्रामीण क्षेत्रका कतिपय महिलाले अझै पनि पाठेघर खसेका समस्यालाई लुकाइरहेको पाइएको छ,’ उनले भने, ‘पाठेघर खसेका महिलाको तत्कालै मृत्यु नभए पनि संक्रमण भएर घाउ हुँदा उनीहरूको जीवन कष्टमय र पीडादायी बनिरहेको छ।’

पाठेघर खस्ने समस्याबाट जुनसुकै उमेर समूह, जुनसुकै समुदाय र जुनसुकै वर्गका महिला पीडित छन्। बढीजसो वृद्धामा देखिए पनि युवतीसमेत यो समस्याबाट अछुतो नरहेको सर्वेक्षणले देखाएको छ। पाठेघर खसेको थाहा हुनेबित्तिकै उपचार नगर्दा यसले विकराल समस्या लिने गरेको स्वास्थ्यकर्मी बताउँछन्। केडले हलेसी विकास मञ्चसँगको सहकार्यमा डुम्रेधारापानी र दुबेकोल तथा ग्रामीण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको सहकार्यमा राखाबांदेल र माक्पामा महिला प्रजनन अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्