प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा विवाद समाधान गर्न नेपालले कुटनीतिक पहल गरे पनि भारतले अस्वभाविक जवाफ दिँदै गएको बताएका छन् ।

नेपालको कुटनीतिक प्रयासलाई भारतले बेवास्ता गरेपछि नयाँ नक्शा जारी गरेर जनस्तरमा वास्तविकता उजागर गर्न नेपाल बाध्य भएको प्रधानमन्त्री ओलीले बताएका छन् । एपीवान टेलिभिजनमा बुधबारदेखि प्रसारण शुरू भएको कार्यक्रम ‘द ब्राभो डेल्टा शो’ लाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले उक्त कुराको खुलासा गरेका हुन् ।

नेपालले नक्शा नै जारी गर्ने अवस्थामा पुग्नुका कारणबारे पनि सनसनीपूर्ण खुलाशा गरेका छन् । अन्तर्वार्तामा नेपाल–भारत सम्बन्धबारे प्रधानमन्त्रीले गरेको खुलासा र राखेको धारणा जस्ताको तस्तै–

भारत हाम्रो छिमेकी हो, दोस्रो, मित्र छिमेकी हो । भारतसँगका हाम्रा सम्बन्धका पाटाहरू राजनीतिक मात्रै होइन बहुआयामिक छन् । सांस्कृतिलगायत थुप्रै पक्षहरू छन् । त्यसकारण यहाँ कुनै थिचोमिचोको प्रवृत्ति अथवा हेप्ने–हेपिनेको सम्बन्ध अथवा ठूलो र सानोको हिसाबको सम्बन्ध अथवा त्यस सम्बन्धलाई आवेश, उत्तेजना र आक्रोशका हिसाबले अथवा अरु कुनै अनुचित तौरतरिकाले त्यसलाई निर्धारण गर्न खोज्न हुँदैन ।

राष्ट्रिय हितको कुरा गर्दा पनि न्यायोचितता त्यसमा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धता वा जिम्मेवारी (इन्टरनेशनल अब्लिगेशन) ति कुराहरूको पालना हुनुपर्छ राष्ट्रिय हित गर्दाखेरि पनि ।

‘आफ्नो राष्ट्रिय हित गर्दा छिमेकीको राष्ट्रिय हितलाई धक्का पर्छ भने, आफ्नो राष्ट्रिय हित गर्दा त्यो जायज छैन भने (हित नाजायज पनि हुन सक्छ नि !) त्यो हितलाई वास्तविक हित होइन भनेर मान्नु पर्छ र हामीले सम्वादको माध्यमबाट तथ्य प्रमाणहरूका आधारमा समस्या केही आइपर्दा तिनको समाधान ठण्डा दिमागले गर्नु पर्छ ।

तर, त्यस्तो नपाइनु राम्रो कुरा होइन ।

भारतले नक्शा जारी गर्दा…

त्यसबेला हामीले डिप्लोम्याटिक नोट पठाएका थियौं र वार्ताका लागि आह्वान गरेका थियौं । वार्तामा बस्दैछौं र वार्ताबाटै समस्याको समाधान निकाल्दै छौं भने धेरै बोल्नु वाञ्छनीय थिएन ।

नक्सा छाप्नुपर्यो भनेर कतिपय कुराहरू उठे । मैले भनें– नक्सा छाप्ने हो । तर, नक्सा छाप्नु भन्दा अगाडि हामीले जुन कुटनीतिक प्रयास गरिरहेका छौं त्यसबाट हामीले हाम्रो भूमि फिर्ता लिने उद्देश्य हो । भूमि फिर्ता लिन वार्ता सहज ढंगले अगाडि बढ्यो भने, सकारात्मक ढंगले बढ्यो भने नक्शा छाप्न भन्दा हामीले परिणामचाहिँ प्राप्त गर्नेतिर बढी ध्यान दिन पर्छ हामीले केही समय कुर्यौं ।

तर, त्यसपछि बाटो बनाउनेदेखि थप कुराहरू र अरु कतिपय कुराहरू पनि देखिए । त्यो त्यस्तो सुखद कुरा थिएन । त्यसपछि पनि हामीले कुटनीतिक नोट पठायौं र सम्वादका निम्ति आह्वान गर्यौं, त्यो हुन सक्ने स्थिति भएन ।

त्यसो भएपछि हामीले वास्तविकतालाई जनसमक्ष प्रस्तुत गर्न पर्ने भयो र नेपाली जनतासमक्ष हामीले वास्तविकता प्रस्तुत गर्यौं । नेपाल सरकारले नक्शा छाप्यो ।

यो एकदम जाय कुरामा हामी छौं र जायज कुरा के भने, पहिले त कहाँ–कहाँसम्म थियो त्यो छोडिदिउँ । सुगौली सन्धीमा एक ढंगले युद्ध हामीले हारेका हौं । त्यस्तो स्थितिमा हामीले जुन सम्झौता गर्यौं हारेको स्थितिमा गरिएको सम्झौता त निकै पीडादायी हुन्छ नि ! हामीले हाम्रो भू–भाग त छोडेर गरेका छौं नि । त्यसमा जुन सीमाना तय भयो त्यो सीमाना तय भएपछि १४६ वर्ष हामीले भोगचलन गर्यौं त्यस भू–भागको । त्यसपछि हामीलाई थाहा नभइकन भारत–चीन युद्धका बेला भारतद्वारा फौज राख्ने काम भयो ।

यो यथार्थ हो ।

अब ५८ वर्षदेखि उता जान पनि दिइएन । फौजी क्याम्प राखिसकेपछि हामीले हाम्रो भू–भाग उपभोग गर्न पाएनौं ।

हामी लगातार कुरा गरिराखेका छौं । तर, त्यसलाई गम्भीरताका साथ लिइएन । हामीले अलिकती गम्भीरताका साथ कुरा उठायौं । नक्शा छापेर जवाफ दिने काम भयो ।

फेरि गम्भीरताका साथ डिप्लोम्याटिक नोट पठाएर कुराकानीका लागि आह्वान गर्यौं बाटो बनाएर जवाफ दिने काम भयो । बाटो बनाएर जवाफ दिने कामको हामीले फेरि डिप्लोम्याटिक नोटद्वारा वार्ताको विनम्र आग्रहका साथ हामीले पत्र पठायौं त्यसको जवाफ हामीले अलिक बेग्लै प्रकारको पायौं ।

बेग्लै प्रकारको जवाफ भनेको त्यो ‘अकुटनीतिक’ थियो । अलिक बलको संकेत, बलको भाषा, आक्षेप, अरुद्वारा उक्साइएका भन्नेजस्ता आक्षेपहरू भन्ने जवाफ हामीले पायौं ।

त्यसपछि पनि मैले पार्लियामेन्टमा बोलें । हाम्रा निम्ति सानो पीडाको विषय थिएन । हामीले हाम्रो अतिक्रिमित जमीन फिर्ता मागेका थियौं, कुनै अर्घेलो गरेका होइनौं ।

वार्तामा बसेर कुराकानी गरेर, प्रमाण हेरेर कुरो टुंगो लगाऔं हामीले भनेका थियौं कुनै अन्यथा भनेका थिएनौं ।

उहाँहरूले हाम्रो भू–भाग सामेल गरेर नक्शा छाप्नुभएको थियो । हामीले त्यो अनुचित भयो कुरा गरौं भन्यौं, जवाफ कस्तो आयो …?

हामीले आफ्नो भू–भाग सामेल गरेर नक्शा छाप्यौं त्यसपछि भारतीय सञ्चारमाध्यमले कुन स्तरको प्रस्तुति दिए त्यो जगजाहेर नै छ । वास्तवमा भन्ने हो भने उनीहरूको प्रस्तुतिले भारतको सभ्यतालाई नै चुनौती दिने खालका तहहरूको कुराहरू आए ।

हामी अहिले पनि भनीराख्या छौं, हामीले यस्ता समस्याहरूको तथ्यका आधारमा, सत्य, तथ्य र प्रमाणहरूका आधारमा समस्याको समाधान गर्नु पर्छ । हामी दुई देशका बीचमा सुमधुर सम्बन्ध हुनु पर्छ र मित्रतापूर्ण हुनु पर्छ, त्यो मित्रता समस्यारहित मित्रता २१औं शताब्धीको मित्रता समानताको आधारमा, सकैको मनमा ठेस लाग्ने र होच्याइने आधारको होइन, अपमान गरिने आधारको होइन ।

पछिल्लो समय परोक्ष जवाफ भारतीय मिडियाहरूबाट आइरहेको भए पनि प्रत्यक्ष रूपमा सरकारको जवाफ केही छैन ।

र पनि नेपालले आफ्नो तर्फबाट कुटनीतिक प्रयासहरू गरिरहेको छ ।

फेरि पनि भूमि फिर्ताको प्रक्रिया वार्ताबाटै हुन्छ । हामी चाहान्छौं छिट्टै । किनभने यो समस्या राखिराख्नु पर्ने कुनै आवश्यकता छैन । तथ्यका आधारमा हामी अगाडि जानुपर्छ । कुरा नगरिराखेर सत्य त फेरिँदैन ।

त्यसकारण सत्य जे छ त्यसलाई आत्मसात गर्नु पर्छ, त्यसलाई स्वीकार्नु पर्छ, सम्बन्धलाई सुधानु पर्छ, त्यसका निम्ति वार्ता र सम्वादको माध्यमबाट टुंग्याउनु पर्छ ।

र, टुंग्याएरै छोडिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 4 महिना अगाडी 2422 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्