उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी प¥यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी प¥यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भरेकी थापा डिभी परेको यथार्थ भएपछि खुशी र उत्साहले फुरुङ्ग बनिन्  ।

त्यसबखत तुलसीका ६६ वर्षीया आमा हरिकला थापालाई गाउँ, छिमेकी र आफन्तले भनेका थिए, “ओहो  तिमी र तिम्री छोरी त कति भाग्यमानी रहेछौँ । छोरी अब अमेरिका जाने भइछिन् ।” डाइभर्सिटी भिसा (डिभी) को सबै प्रक्रिया पूरा गरेर २०७५ कात्तिक १५ गते तुलसी अमेरिका उडिन् ।

अमेरिकाको टेक्सास शहरमा आफन्तको सहयोगमा काम पनि मिल्यो । दिन राम्रै चल्दै थियो । तुलसीको व्यक्तिगत र पारिवारिक जीवनमा खुशी नै खुशी झुल्दै थियो । तुलसी अमेरिका पुगेपछि नै हो–बूढेसकाल लागेकी आमाले स्मार्ट फोन देखेको । तुलसीले नै आमासँग भिडियो कल गर्नुपर्छ भनेर स्मार्ट फोन पठाइदिएको थिइन् । अझ घरमा इन्टरनेट जोड्ने पनि भनेको थिइन्  । सबै खालको प्रयास गर्दा पनि गाउँमा सजिलै इन्टरनेट जोड्न नसकेपछि तुलसीले अमेरिकाबाट दिदीलाई भनिन्, “आमालाई डाटा लिएर भिडियो कल गर्न सिकाइ दिनु ।”

दुई दिदीबहिनी र एक दाजुमध्येकी कान्छी छोरी हुन् तुलसी । अमेरिकाबाट पछिल्लो पटक मङ्सिरमा महिनामा पैसा पठाउँदा तुलसीले दिदीसँग भनेको थिइन्, “आमालाई सुनका बाला बनाई दिनु ।” अमेरिका पुगेपछि तुलसीले पटक–पटक भन्थिन्, “बाबा बितिहाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।”

तुलसीको आमालाई अमेरिका घुमाउने रहर मात्र होइन, जीवनका सारा सपना अमेरिका पुगेको १४ महिनामै टुटेको छ । विसं २०७६ पुस १० गते बिहान बाथरुममा नुहाउँदा नुहाउँदै बेहोस भएकी तुलसीको अस्पताल पुर्याउँदा पुर्याउँदै मृत्यु भयो । तुलसीको मृत्यु भएको आठ महिना बिते पनि आमा हरिकला थापाको आँखा भने अझै ओभाएका छैनन् ।

छोरीले अमेरिकाबाट रु ७०÷८० हजार पठाउँदा खुशीले फुरुङ्ग हुने तुलसीका आमा छोरीको नामले राहतस्वरुप रु १० लाख पठाउँदा पनि अनुहारमा कुनै उत्साहको रङ्ग देखिएन । बरु भाव शून्य भएर एकहोरो आँखाबाट अश्रुधारा बगिरह्यो । अमेरिका पुगेको छोटो समयमै सामाजिक अभियानमा पनि सक्रिय थापा नेपाल मगर सङ्घ टेक्सास कमिटीको सदस्य भएर काम गरिसकेको थिइन् । थापाको निधनपछि अमेरिकामै रहेको नेपाल मगर सङ्घ अमेरिकाले राहत सङ्कलन अभियान चलाएर सङ्कलित रु १० लाख ५८ हजार ७६४ को चेक तुलसीका आमा हरिकलालाई बागलुङ बजारमा एक कार्यक्रमका बीच हस्तान्तरण गरियो ।

हातमा रु १० लाखको चेक पर्दासमेत आमा हरिकलाका आँशु र बहिनीको माया र सम्झनाका सामु रु १० बराबर पनि नभएको तुलसीकी दिदी मनकुमारी बताउछिन् । “पैसा सबै कुरा होइन रहेछ”, उनले भने, “बहिनीको मृत्युपछि हाम्रो दुःख पीडालाई कम गराउन मगर सङ्घ अमेरिकासँगै विभिन्न सङ्घसंस्थाले धेरै सहयोग गरेका छन्, हातमा पैसाका बिटा भए पनि त्यसमाथि बहिनीका आँशुका बाछिटा छन् जस्तो लाग्छ ।”

विदेश गएपछि पैसाका लागि अनवरत काम गर्नुपर्ने विवशता भए पनि आफ्नो जीवन र स्वास्थ्यको पनि विशेष ख्याल गर्न बिर्सन नहुने तुलसीका आफन्त तथा स्थानीय तारा थापाले बताउनुभयो । “पैसा मात्र केही होइन रहेछ, मुख्यतः जीवन नै हो, बाध्यताले जहाँ जहाँ जानु परे पनि स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्दछ भन्ने पाठ यो घटनाले पनि दिएको छ”, थापाले भनिन्, “अहिले विदेशमा भएका सबैजसो व्यस्त छन्, तर आफू र आफ्नो जीवन बिर्सिरहेका छन् । यो हाम्रा लागि निकै महँगो सावित हुनसक्छ, जतिसक्दो ख्याल गरौँ ।”

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 248 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्