-डा. मतिप्रसाद ढकाल

मान्छेले कति के ग¥यो
पिइसक्यो ब्रह्माण्ड नै तन्तनी ।
हाम्रो बाहुन छामी मख्ख छ
अझै टुप्पी जनै कन्धनी ।।
२०४५ सालमा धरानको पिण्डेश्वर क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा पढ्दा मैले माथिको भनाइ भानुभक्त पोखरेलद्वारा लिखित ‘बोध, शैली र अभिव्यक्ति’ नामक पुस्तकमा पढेको थिएँ । उक्त भनाइ कसको हो ? भन्ने बारेमा त्यतिबेलादेखि अहिलेसम्म मैले पत्ता लगाउन सकेको छैन । कसैले यसलाई बालकृष्ण समको भनाइ हो पनि भनेका छन् तर त्यसको सन्दर्भ मैले अझै भेट्न सकेको छैन । जसले जहाँ उल्लेख गरेको भए पनि उक्त भनाइले टुप्पी, जनै र कन्धनी मात्र लगाएर विश्वसँग प्रतिस्पर्धा गर्न असम्भव छ भन्ने आशयभन्दा पनि टुप्पी, जनै र कन्धनी नलगाउन धेरैलाई प्रेरित गरेको आभास हुन्छ ।

वर्तमान नेपाली समाजमा बाहुनका प्राचीन पहिचान यी तीन चीजहरु क्रमशः हराउँदै गएका छन् । तीमध्येमा पनि बाल्यकालमा आफ्ना अभिभावकले लगाइदिएको भए पनि आपैmले जान्नेबुझ्ने भएपछि प्रायः सबैले वर्तमानमा कन्धनी लगाउनै छाडेका छन् । ‘कौपीनवन्तः खलु भाग्यवन्तः’ अर्थात् लगौँटी लगाउनेहरु निश्चय नै भाग्यमानी हुन्छन् भन्ने कुरालाई आत्मसात् गर्दै लगौँटी लगाउन रूचाउने अत्यन्त सीमित केही व्यक्तिले आजकल पनि कन्धनी लगाउन छाडेका छैनन् तर जनै नलगाउनेको सङ्ख्या पनि ह्वात्तै बढेको छ र त्यसभन्दा पनि टुप्पी नपाल्नेहरुको सङ्ख्या त गनेरै साध्य छैन बरू वर्तमानमा ककसले टुप्पी पालेका होलान् ? भनेर खोज्दै हिँड्नुपर्ने परिस्थिति छ ।


हिन्दु धर्मका अनुयायी द्विजहरुले सधैँ जनै धारण गर्नुपर्छ र टुप्पी राख्नुपर्छ । यी दुवै द्विजातिका मुख्य पहिचान हुन् । शुक्लयजुर्वेदले ‘यशसे श्रियै शिखा’ (१९।९२) अर्थात् कीर्ति वा शोभा पाउनका लागि टुप्पी पाल्नुपर्छ भनेर निर्देश गरेको छ । टुप्पीलाई हाम्रा ऋषिमुनिहरुले ‘शिखा’ नाम दिएका छन् । नेपालीमा भने शरीरको टुप्पामा राखिने गाँठो भएकाले ‘टुप्पी’ भनिएको हुनुपर्छ । शिखा पार्नु भनेको गाँठो पार्नु हो । यस किसिमको गाँठो हामीले पूजा गर्दा हातमा लगाउने कुशको औँठी (पवित्र)मा र हामीले धारण गर्ने जनैमा पनि बाँधिएको हुन्छ । गायत्री मन्त्र वा ‘मानस्तो केतनये…’ मन्त्र वा ‘चिद्रूपिणि महामाये दिव्यतेज समन्विते, तिष्ठ देवि शिखामध्ये तेजोवृद्धिं कुरूष्व मे’ मन्त्रको उच्चारण गर्दै टुप्पी बाँध्ने गरिन्छ तर कुशको पवित्र बनाउँदा र जनैमा शिखा पार्दा पनि यसैगरी मन्त्र उच्चारण गरिनुपर्ने हो तर त्यसो गरिएको भने पाइँदैन ।


टुप्पीले हाम्रो ज्ञानशक्तिलाई सदैव बढाउन मद्दत गर्छ । जुन ठाउँमा हामीले टुप्पी राख्छौँ त्यसको वरपर बुद्धिचक्र, ब्रह्मरन्ध्र र सहस्रदल पथ वा ब्रह्माको अधिष्ठान रहेका हुन्छन् । हामीले पढ्दा र पूजापाठ गर्दा उत्पन्न हुने अमृत त¤व ब्रह्माको अधिष्ठानमा प्रवेश गर्छ र त्यसले बाहिर निक्लने प्रयास गर्छ । टुप्पीमा गाँठो पार्नाले त्यो अमृत त¤व बाहिर निस्कन पाउँदैन ।
स्नाने दाने जपे होमे
सन्ध्यायां देवतार्चने ।
शिखाग्रन्थिं सदा
कुर्याद् इत्येतन्मनुरब्रवीत् ।।


(मनु संहिता)
अर्थात् नुहाउँदा, सन्ध्यावन्दन गर्दा, दान गर्दा, होम गर्दा र पूजा गर्दा पनि टुप्पी बाँध्नुपर्छ ।
जुन ठाउँमा टुप्पी पालिन्छ त्यो चोटपटक लाग्दा तत्काल मृत्यु हुन सक्ने मर्मस्थलहरुको एक स्थल मानिएका कारण त्यसको सुरक्षाका लागि टुप्पी पाल्ने प्रचलन हाम्रा ऋषिमुनिहरुले चलाएका हुन् । टुप्पी पाल्ने र टोपी पनि लगाउने गर्नाले त्यस मर्मस्थलको बढ्ता सुरक्षा हुन सक्छ ।


विश्वप्रसिद्ध कूटनीतिज्ञ चाणक्यले दुर्गा भगवतीलाई साक्षी राखेर टुप्पी हातमा लिई नन्दवंशको विनाश नगरेसम्म टुप्पी नबाँध्ने प्रतिज्ञा गरेका थिए र उनले त्यसमा सफलता पनि प्राप्त गरे । त्यसैले टुप्पीको स्पर्शद्वारा आत्मबल वा शक्तिको सञ्चार हुँदो रहेछ भन्ने कुराको पुष्टि हुन्छ ।
गाईको खुरजत्तिकै क्षेत्रफलमा टुप्पी राख्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको भए पनि आजकल मूसाको पुच्छरजत्रो टुप्पी राख्नेहरु बढ्ता भेटिन्छन् । टुप्पी नै नहुनुभन्दा त टुप्पी राख्नु रामै्र हो तर मुसापुच्छे« टुप्पीले शिरको मर्मस्थललाई पूर्णतया सुरक्षित गर्न भने सक्तैन ।


टुप्पी हिन्दु धर्मका अनुयायी द्विजको परिचायक प्राकृतिक चिह्न हो । यो चिह्न कायम गर्नका लागि कुनै किसिमको आर्थिक लगानी गर्नु पर्दैन । विश्वको जुनसुकै कुनामा पुगे पनि टुप्पी पाल्ने व्यक्ति भेटिँदा बित्तिकै हामीले त्यस्ता व्यक्तिसँग सहजै आत्मीय सम्बन्ध कायम गर्न सक्छौँ ।
धार्मिक, वैज्ञानिक, सामाजिक र ऐतिहासिक जुनसुकै दृष्टिले पनि टुप्पीको मानव जीवनमा मह¤वपूर्ण स्थान छ । बल, आयु, तेज र बुद्धिको वृद्धिका लागि टुप्पी अवश्य पाल्नुपर्छ । टुप्पीले हाम्रो शरीरको विद्युत् प्रवाहलाई नियन्त्रण गर्छ ।


टुप्पी पाल्नाले हाम्रो मस्तिष्कमा पवित्र भावना जागृत हुन्छ । मानवीय चेतनाको मर्मस्थलको पहिचानका लागि टुप्पी पाल्ने परम्परा कायम रहेको हो । टुप्पी नबाँधीकन गरिएका स्नान, दान, होम, सन्ध्या र पूजा कर्महरु पनि राक्षस कर्म मानिने भएकाले टुप्पी पाल्नु र टुप्पी बाँध्नु आवश्यक छ । पूजापाठ आदिका बेलामा मस्तिष्कमा सङ्कलित ऊर्जा तरङ्गहरु बाहिर ननिक्लियून् भनेर पनि हाम्रो समाजमा टुप्पी पाल्ने प्रथा चलेको हो ।


वास्तवमा हामी टुप्पी पाल्न अनि जनै र कन्धनी लगाउन छाडेर न त विश्वब्रह्माण्डलाई तनतनी पिउन सक्यौँ न त टुप्पी पालेर अनि जनै र कन्धनी लगाएर यिनको यथार्थ अस्तित्व नै पूर्णतया बुझ्न र बुझाउन सक्यौँ । त्यसैले वर्तमानमा हामी न यताका न उताका अस्तित्वविहीन पुङमाङ बन्दै गएका छौँ । विश्वब्रह्माण्ड तनतनी पिउनेहरुले टुप्पी पालेनन् अनि जनै र कन्धनी लगाएनन् भनेर हामीले हाम्रा प्राचीन र मौलिक पहिचानलाई रुढिवादी ठानेर बढार्ने होइन यिनलाई अँगालेर पनि हामीले विश्वब्रह्माण्डलाई तनतनी पिउन सक्नेछौँ, यिनी हाम्रा बाधक होइनन् साधक हुन् भन्ने कुरामा हाम्रा चिन्तनहरु सदैव अग्रसर भइरहनु आवश्यक देखिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 246 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्