योजनाविहीन व्यक्ति, संस्था र दलको भविष्य हुँदैन। अग्रजको योगदान भनेको पैत्रिक सम्पत्तिजस्तै हो, त्यसलाई जोगाउन पनि थपिरहनुपर्छ नत्र खिइँदै जान्छ।

भनिन्छ– व्यक्तिका जीवनमा अनगिन्ती अवसर आउँछन् तर त्यसलाई चिन्न सक्नुपर्छ, थाहा पाउन सक्नुपर्छ। संस्थाको जीवनमा पनि त्यही हो। कुनै पनि सामाजिक या राजनीतिक संस्थाले प्राप्त अवसरलाई अधिकतम उपयोग गर्न सक्नु या जान्नुपर्छ। यी अवसर आफैंद्वारा सिर्जित, प्रतिस्पर्धीद्वारा या समयद्वारा सिर्जित जे पनि हुन सक्छन्। मेहनत, योग्यता र निरन्तरको साधनाले अवसरको सिर्जना भई उपलब्धि हासिल हुन्छ एकातिर भने प्रतिद्वन्द्वी या प्रतिस्पर्धीको गल्ती या असफलताले पनि अवसर आउँछ। मेहनतबाट प्राप्त अवसर गौरवपूर्ण र आत्मसम्मानयुक्त हुन्छ भने अरूका असफलताबाट प्राप्त अवसर धेरै दिगो हुँदैन। त्यस अवसरप्रति गहिरो प्रेमसमेत हुँदैन र टिकाइराख्न गम्भीर प्रयत्नसमेत गरिँदैन। तथापि यी सबै अवसर नै हुन्।

यो विषय यतिबेला कांग्रेस पार्टीका हकमा लागू हुन्छ। इतिहासमा घटनाक्रम या परिबन्दले, मतलब ढंग नपुग्दा गम्भीर चुनौती खडा भयो गत निर्वाचनपछि। स्वतन्त्र जनमतमा विश्वासै नगर्ने राजनीतिक दल निर्वाचनबाट प्रचण्ड बहुमतका साथ सत्ताको नेतृत्व गरी एकलौटी सरकार बनाउने ठाउँमा पुग्यो। यसलाई लोकतान्त्रिक मूल्य र मान्यताको सैद्धान्तिक जित ठानिए पनि प्रणालीको व्यावहारिक असफलता थियो धुन्धुकारी सन्तानले घरको तालाचाबी पाएजस्तो। यो घटना विश्व राजनीतिकै दुर्लभ तर नकारात्मक घटना थियो। तर कहिलेकाहीं यस्ता घटनालाई तात्कालिक असफलताका रूपमा चित्रण गर्दै अवसरमा बदल्न सकिन्थ्यो। कांग्रेसले आफ्नो पार्टीको भद्रगोल अवस्था ठीक गरेर आगामी चुनावको तयारी गर्न सक्थ्यो।

विश्वविख्यात कूटनीतिज्ञ, अर्थशास्त्री तथा राजनीतिज्ञ कौटिल्य अर्थात् चाणक्यको एउटा विचार साँच्चै सारगर्भित र कालजयी छ– जतिसुकै लोकप्रिय, विद्वान्, धनी र सुरवीर भए पनि उससँग सुस्पष्ट योजना, पर्याप्त स्रोत र सुदृढ संगठन छैन भने उसले उद्देश्य प्राप्त गर्न सक्दैन। लक्ष्यको त कुरै छाडौं। कांग्रेस नेपालको इतिहासको निर्माता हो, रचनाकार हो। यसले नेपालको उत्तरआधुनिक राजनीतिको रथलाई अघि बढायो र चरणबद्ध रूपमा नेतृत्व प्रदान गर्‍यो। किनभने कांग्रेससँग ठोस योजना, स्रोत र संगठन सबै थियो। इतिहासमा यस राजनीतिक दलको उत्पत्ति नभएको भए र बीपी कोइराला यसको नेता नभएको भए नेपालको हविगत सिक्किमको झैं हुने निश्चित थियो। हामी यतिबेला सिक्किमको नियति झेलिरहेका हुन्थ्यौं। विदेशी प्रभुत्वको जाँतोमुनि पिल्सिएर आफ्नो सुनौलो विगत स्मरण गरिरहेका हुन्थ्यौं। नेपाली राजनीतिमा उदाउन खोजेका लेन्डुप दोर्जेहरूले यो देशलाई उहिल्यै लिलाम गरिसकेका हुने थिए। त्यसो हुन कांग्रेसले दिएन। हामीभन्दा शक्तिशाली छिमेकीको जतिसुकै थिचोमिचो सहनुपरे पनि हामी स्वतन्त्रतापूर्वक बाँचिरहेका छौं।

तर अहिले कांग्रेस कहाँ छ ? के गर्दैछ र उससँग भविष्यको केकस्तो योजना छ ? माथि नै चर्चा भइसक्यो कि योजनाविहीन व्यक्ति, संस्था र राजनीतिक दलको कुनै भविष्य हुँदैन। अग्रजहरूले गरेको योगदान भनेको पैत्रिक सम्पत्तिजस्तै हो। जोगाउन पनि थपिरहनुपर्छ नत्र खिइँदै जान्छ। विगतमा काम गरेकै भरमा मात्र अनन्तकालसम्म टिकिँदैन। अझ राजनीतिक दलले त बारम्बार जनताको प्रयोगशालामा आफूलाई परीक्षण गरिरहनुपर्छ। दलको नेता अर्थात् अभिभावक गतिलो भएन भने सबैले दुःख पाउँछन् भन्ने उदाहरण स्वयं कांग्रेसले भोगिरहेको छ। आफ्नो आँखाअगाडिको जिम्मेवारी थाहा नपाउने अवस्थामा पुगेको कांग्रेसको वर्तमान नेतृत्वले उपादेयता र सान्दर्भिकता गुमाउँदै गएको छ। यस्तो बेत बसेको भैंसी, जसको मासु त काम लाग्ला तर दूध आउँदैन। यस्तो विपद् अवस्थामा रहेको कांग्रेसलाई लैनो कसरी बनाउने, आजको चिन्ता यही हो।

सामान्यतया जनताका बीचबाटै नेतृत्व पैदा हुने हो। तुलनात्मक रूपमा साहसी, बुद्धिमान, निःस्वार्थ र जनताले पत्याएको व्यक्ति नै नेताका रूपमा उदाउने हो। औसत बुद्धिको व्यक्ति कहिल्यै नेता बन्दैन। यो खुला सत्य हो। व्यक्ति स्वयं आफ्नो चाहनाले मात्र पनि नेता हुँदैन, जनताले बनाउने हो र स्वीकार गर्ने पनि हो। ससाना राज्यमा विभक्त नेपाललाई एकीकरण गर्ने गोरखाका राजा पृथ्वीनारायण शाहलाई सम्पूर्ण देशले नेता मान्यो र उसको आधिपत्य स्वीकार गर्न तयार भयो। त्यसैले नेपालको एकीकरण सम्भव भयो। राणाहरूले रैती बनाएका नेपाली जनताले बीपी कोइरालाको नेतृत्व स्वीकार गरेर नै नेपालमा प्रजातन्त्रको अभ्युदय भयो। ऐतिहासिक आवश्यकताले कहिलेकाहीं समयको गर्भबाट नेता पैदा हुन्छ। यो कहिल्यै पनि औसत हुँदैन। थोरबहुत आँधी तुफान, फेरबदल र परिवर्तनको अनुभूति दिन सक्ने सामथ्र्य भएको व्यक्तिले मात्र समाजलाई डोर्‍याउन सक्छ। उससँग सपना, अठोट र थोरै पागलपनसमेत हुनुपर्छ। हाम्रो राजनीतिक इतिहास सीधा रेखामा हिँडेको छैन, निकै उतारचढावपूर्ण र बांगोटिंगो छ। यो यथार्थ नबुझ्नेले नेपाली समाज र नेपालको राजनीति थाहा पाउँदैन। अगाडि हिँड्ने सही बाटोसमेत पहिल्याउन सक्दैन।

कांग्रेसले नेपालको राजनीतिक इतिहासमा धेरै परीक्षा दिनुपर्‍यो। हरेक परीक्षामा सन्तोषजनक परिणाम प्राप्त भयो पनि। अहिले फेरि त्यो घडी आएको छ। सिंगो लोकतान्त्रिक जनमतलाई चित्तबुझ्दो जवाफ दिएर युवा पुस्तालाई आश्वस्त पार्ने।

राजनीतिक दलहरू अजर, अमर र कालजयी संस्था होइनन्। समय चेतना, राष्ट्रिय आवश्यकता र सामाजिक जागरुकताले पैदा भएका राजनीतिक संस्थाहरू हुन्। यिनीहरू आफ्नो उद्देश्यप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी र आफ्ना सदस्यहरूको भावनाप्रति संवेदनशील हुनैपर्छ। जनचाहनामुताविक समयसापेक्ष नीति र जवाफदेहिताले दलप्रति जनताको भरोसा बढाउँछ। यसैबाट दलहरूको भविष्य पनि निर्धारण हुन्छ। अन्यथा असान्दर्भिक भएर समयको गर्तमा हराउन पुग्छन्। दल सञ्चालन गर्ने त्यसका नेताले हो। नीति, कार्यक्रम र सोहीअनुरूपका गतिविधि सञ्चालन गर्ने पनि नेतृत्वले नै हो। यी सबै विषय जनताको अभिरुचिअनुरूपका देखिएनन् भने दलको प्रयोजन समाप्त हुन्छ। आज कांग्रेसको सन्दर्भमा पनि यो बहस प्रारम्भ भएको छ। तीनवटा क्रान्तिको नेतृत्व गरिसकेको यस दलले आफ्नो चौधौं महाधिवेशनको सँघारमा उभिएको यस महŒवपूर्ण घडीमा अब के गर्नुपर्छ त भन्ने छलफल जनस्तरमै चलेको छ। चाखलाग्दो कुरा के छ भने अन्य दलका सदस्यसमेत कांग्रेसलाई सल्लाह र सुझाव दिन उत्सुक देखिएका छन ्। सचेत मतदाता र सर्वसाधारण नागरिकसमेतको ध्यान कांग्रेस महाधिवेशनतिरै सोझिएको छ। त्यति मात्र होइन, उनीहरूले कांग्रेसबाट निकै अपेक्षासमेत गरेका छन्। आफ्ना कमजोरी हटाएर आधुनिक व्यवस्थापनद्वारा सुदृढ भएको सर्वाधिक पुरानो लोकतान्त्रिक दल कांग्रेसले देश चलाओस् र मुलुकमा व्याप्त राजनीतिक अन्योल हटोस् भन्ने चाहना पनि उत्तिकै बोकेका छन्।

अपवादबाहेक हरेक मानिसको पारिवारिक जीवनका निश्चित कर्तव्य हुन्छन्। लामो समयसम्म परिवार चलाएको घरमूलीले सन्तान बढेर योग्य भएपछि जिम्मेवारी बाँडफाँट गर्नुपर्छ। अझ आफ्नो चढ्दो उमेर र वृद्धावस्थाको ख्याल गर्दै घरको तालाचाबी योग्य सन्तानलाई सुम्पनुपर्छ। यस्तो सुझबुझ समयमै नदेखाउने हो र सबै बोझ आफ्नो थाप्लोमा लिइरहने हो भने त्यो घरपरिवार तहसनहस हुन कुनै बेर लाग्दैन। कुनै संस्था, देश र राजनीतिक दलको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। लामो समयसम्म पार्टी र देश चलाएका नेताहरूले आफ्ना सुयोग्य उत्तराधिकारीलाई पार्टीको बागडोर सुम्पन ढिलाइ गर्नु हुँदैन। आफूभन्दा व्यवहार कुशल भइसकेका साथीहरूलाई जिम्मेवारी हस्तान्तरण गर्न ढिलाइ गर्नु हुँदैन। कांग्रेसको चौधौं महाधिवेशनका सन्दर्भमा यो विषय जोडतोडले उठिरहेको यथार्थलाई नजरअन्दाज गर्नु हँुदैन। यो समयको माग र राष्ट्रिय आवश्यकता पनि हो।

बीपीले आफ्नो जीवनकालमै पार्टीको बागडोर आफ्ना उत्तराधिकारीलाई सुम्पनुभएको थियो। नेपाली कांग्रेस प्रतिबन्धित अवस्थामा रहेकै बेला किसुनजीलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको ऐतिहासिक घटनाका साक्षी अहिलेका नेताहरू स्वयं हुनुहुन्छ। यो नेतृत्व हस्तान्तरणको सुनौलो उदाहरण थियो। त्यतिबेला बीपी मात्र होइन, पार्टीका अर्का नेता सुवर्णशमशेरसमेत जीवितै हुनुहुन्थ्यो। त्यस्तै गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायसमेत अग्रणी र सम्मानित नेताका रूपमा हुनुहुन्थ्यो। सबै अग्रज नेताहरूले पार्टीको बागडोर आफ्ना साथीहरूलाई सुम्पनुभयो। पदप्रतिको आसक्ति र मोह राख्नुभएन। यी घटनालाई विस्मृतिमा धकेल्नु हँुदैन। बीपीले आफ्नो जीवनकालमै गणेशमानजी, किसुनजी र गिरिजाबाबुलाई पार्टी जिम्मा लगाउनुभयो। आफ्नो शेषपछिको पार्टी पद्धति बसाउनुभयो। यो नेतृत्वको अनिवार्य दायित्व हो। किसुनजीले आफ्नो जीवनकालमै गिरिजाबाबुका लागि पार्टी सभापति बन्न मार्गप्रशस्त गरिदिनुभयो। छपन्न सालको संसदीय निर्वाचनमा गिरिजाबाबुले किसुनजीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुभयो। छयालीस सालमै गणेशमानजीले आफूलाई प्राप्त प्रधानमन्त्री पद किसुनजीलाई सुम्पिसक्नुभएको थियो। यस्तो आपसी सद्भाव भएको राजनीतिक दल हो, नेपाली कांग्रेस। पन्ध्र सालमै संसदीय निर्वाचन जितेपछि बीपीले सुवर्णलाई र सुवर्णले बीपीलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको घटना विश्व राजनीतिकै दुर्लभ घटना थियो।

त्यसैले आजको आम सरोकार कांग्रेसको चौधौं महाधिवेशनले कसरी नेतृत्व चयन गर्ला र कसलाई गर्ला भन्ने नै रहेको छ। यस सन्दर्भमा पार्टी नेतृत्वले गहिरो सुझबुझ राख्न सक्नुपर्छ। यसलाई समकालीन समाजको चेतनशील जगत्ले सूक्ष्मरूपमा अवलोकन गरिरहेको छ। कांग्रेसले नेपालको राजनीतिक इतिहासमा धेरै परीक्षा दिनुपर्‍यो। हरेक परीक्षामा सन्तोषजनक परिणाम प्राप्त भयो पनि। अहिले फेरि त्यो घडी आएको छ। सिंगो लोकतान्त्रिक जनमतलाई चित्तबुझ्दो जवाफ दिएर युवा पुस्तालाई आश्वस्त पार्ने। त्यसैले अहिले कांग्रेसको काँधमा आफ्ना अगाडि उपस्थित डरलाग्दा चुनौतीसँग मुकाबिला गर्न सक्ने आत्मविश्वास पैदा गरेर वर्तमान शासन प्रणालीमार्फत नेपाललाई समृद्ध र नेपाली जनतालाई सम्पन्न बनाउने प्रमुख दायित्व छ। हेरौं– यस परीक्षामा कांग्रेसले आफूलाई कस्तो सावित गर्छ ? 

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 246 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्