भयो के भने, श्रीमानले श्रीमतीलाई कुनै सानो विवादमा दुईपटक थप्पड लगाई दिएछ । जवाफमा श्रीमतीले आफ्नो चप्पल श्रीमान तिर फ्याँकिन । चप्पलको किनाराले श्रीमानको टाउको छुँदै गयो । कुरा यत्तिकैमा सिद्ध्याउन सकिन्थ्यो, तर पतिले यसलाई आफ्नो अपमान हो भन्ठाने, आफन्तहरूले यो कुरालाई अझ जटिल बनाई दिए । जटिल मात्र कहाँ हो र, गम्भीर ….!

आफन्तहरूले भन्न थाले कि पतिलाई चप्पललेले हिर्काउने महिला न वफादार हुन्छ, न पतिव्रता । यसलाई घरमा राख्नु भनेको आफ्नो शरीरमा आवधिक ज्वरो पालेको जस्तै हो । केही आफन्तहरूले त यहाँ सम्म भन्न थाले कि यस्तो महिलाको भ्रुण नै अन्त्य गरी दिनु पर्दछ । नराम्रा कुराहरु चक्रिय ब्याजको जस्तो गरी बढ्दै जान्छन्, त्यसैले दुबै पक्षहरूमा धेरै आरोपहरू लगाउन थालियो । दुबै पक्षका मानिसहरूले आरोपहरूको भलिबल खेले जस्तै लाग्थ्यो । केटाले केटीको बारेमा र केटीले केटाको बारेमा धेरै असुविधाजनक कुराहरु भने ।

मुद्दा दायर गरियो । श्रीमानले “चरित्रहीनताको” मुद्दा हालेका थिए भने श्रीमतीले “दाइजो उत्पीडनको” । विवाहित जीवनको छ वर्ष पछि र बच्चाका बाबुआमा भएपछि दुबैको आज सम्बन्धविच्छेद भयो । ती दम्पतीको हातमा सम्वन्धविच्छेदको कागज थियो । दुबै मौन थिए, दुबै शान्त । मुद्दा दुई बर्ष सम्म चल्यो । दुई वर्ष देखि श्रीमती छुट्टिएर बसिरहेकी थिईन् र श्रीमान पनि । मुद्दाको सुनवाईमा दुइटैलाई आउनु पर्ने हुन्थ्यो । दुवैले एक अर्कालाई हेर्दा रिसाएका हुन्थे, एउटाले हेर्दा अर्कोको अनुहार नदेखिने गरि बस्थे, जानाजानी एक अर्कालाई बेवास्ता गरिरहेको जस्तो देखाऊँथे । वकील र आफन्त दुबैसँग हुन्थे । आफन्तहरुको सहानुभूतिमा अलि अलि विस्फोटक सामग्री पनि लुकेको हुन्थ्यो । दुबैलाई के भन्ने भनेर राम्रो पाठ सिकाइएको हुन्थ्यो, दुबै त्यही भन्थे । धेरै पटक तिनीहरू दुबैको बयान परिवर्तन हुन थाल्यो भने फेरी होस गरी हाल्थे । अन्त्यमा, त्यै भयो जो सबैले चाहन्थे ……सम्वन्धविच्छेद !

पहिले आफन्तहरूको फौज साथमा हुन्थ्यो, आज उनीहरूसँग थोरै आफन्तहरू थिए । दुबै पक्षका आफन्तहरू खुशी थिए, वकिलहरू खुशी थिए, आमा बुबा पनि खुशी थिए । सम्बन्धविच्छेद भई सकेका पति पत्नी मौन थिए । यो संयोग मात्र हो कि दुबै पक्षका आफन्तहरू एकै चिया पसलमा बसेर चिसो पेय पदार्थ र चिया सेवन गरी रहेका थिए । यो पनि एक संयोग थियो कि सम्बन्धविच्छेद भएका पति र पत्नी एकै टेबलमा आमने सामने बसे । काठको बेंच र तीं दुई …….

“बधाई छ ….! तपाईले जे चाहानु हुन्थ्यो त्यही भयो” महिलाले भनिन् ।

“तिमीलाई पनि बधाई छ ! तिमीले पनि सम्बन्ध विच्छेद गरेर जित्यौ” पुरुषले भन्यो ।

“के सम्बन्ध विच्छेद भनेको विजयको प्रतीक हो ?” महिलाले सोधिन् ।

” तिमी भन ? ”

पुरुषले सोध्दा, महिलाले कुनै जवाफ दिईनन्, चुपचाप बसेकी थिइन्, अनी भनिन्, “तपाईंले मलाई चरित्रहीन भनिदिनुभयो !”

“त्यो मेरो गल्ती थियो, मैले त्यसो गर्नु हुँदैनथ्यो” पुरुषले भने ।

“मैले धेरै मानसिक तनाव भोगेकी छु”, महिलाको स्वर प्रष्ट थियो, न कुनै दुःख न रिस ।

“थाहा छ…! एउटा पुरुषले एउटी महिलालाई यही हतियारले आक्रमण गर्छन् जसले महिलाको दिमाग र प्राणलाई मार्छ …तिमी प्रष्ट छौ । मैले तिम्रो बारेमा यस्तो फोहोर कुरा गर्नु हुँदैन थियो, म धेरै दु:खी छु ।” भन्दै उनले टाउको निहुराए ।

महिला चुप लागिन, उनीले एक पटक पुरुषलाई देखिन् ।

केही क्षणको मौन पछि, पुरुषले लामो सास फेर्छ । भन्यो, “तिमीले पनि मलाई दाइजो लोभी भन्यौ।”

“गलत भनें छू” …. महिलाले पुरुषलाई हेर्दै भनिन् ।

केही समय चुप लागिन् अनि भनिन्, “म अरू कुनै दोष लगाउँथें तर ………”

प्लास्टिकको कपमा चिया आई सक्यो ।

महिलाले चियाको कप उठाऊँदा, केही तातो चिया उनको हातमा खस्यो । अलि चिच्याइन्…..आह..!”

‘ओह’ को आवाज पुरुषको घाँटीबाट आयो । महिलाले उसलाई हेरिन् । पुरुष र महिला एक अर्कालाई हेरिरहेका थिए ।

“तिम्रो कम्मरको दुखाई कस्तो छ?”

“उस्तै त हो ” महिलाले कुरो समाप्त गर्न चाहिन् ।

“तिमी व्यायाम पनि त गर्दिनौ” पुरुषले यति भन्दैमा, महिलाले उसलाई हेर्दै अलि मुस्कराए जस्तो गरिन् ।

“तपाईको दमको अवस्था कस्तो छ नि… फेरी अट्याक त भएन नि ????” महिलाले सोधिन् ।

“दम…!! डाक्टर पुनले मानसिक तनाव कम गर्न भनेका छन्” पुरुषले भन्यो ।

महिलाले पुरुषलाई हेरिन्, हेर्दै रहिन् एकटक…! मान्छे को अनुहारमा छापिएको तनाव पढ्न जस्तै ।

“तपाईंले इनहेलरहरू त लिइरहनुभएको छ, हैन?” महिलाले उसको अनुहार बाट आँखा हटाऊँदै सोधिन्।

“हो, म लिदैछु, आज ल्याउन बिर्सें छु”

“त्यसले आज तपाईको साँस तलमाथि भएको छ”, महिलाले सहानुभूतिपूर्ण स्वरमा भनिन्।

“हो, केही यसको कारणले र केहि …” भन्दा भन्दै पुरुष रोकियो ।

“केहि … केही तनावका कारणले गर्दा ?” महिलाले कुरो पूरा गरिन् ।

पुरुषले केहि सोचिरह्यो, र भन्यो, “तिमीलाई चालीस लाख रुपैयाँ दिनु पर्ने हो र बीस हजार रूपैयाँ महिना पनि ।”

“हो … फेरी ?” महिलाले सोधिन् ।

“न्यू रोडमा एउटा फ्ल्याट छ … तिमीलाई थाहा नै छ । म त्यसलाई तिम्रो नाममा पास गराई दिन्छु । मसँग अहिले चालीस लाख रुपैयाँ छैन । पुरुषले आफ्नो मनको कुरा भने ।

“न्यू रोडको फ्ल्याट त करोड़ों रूपैयाँको छ , मलाई केवल चालीस लाख रूपियाँ चाहिन्छ ।” महिलाले भनिन् ।

“छोरी ठूली हुँदै छे …धेरै खर्चहरू हुने गर्दछन् ….” पुरुषले भन्यो ।

“त्यसका लागि त तपाई मलाई बीस हजार रूपैयाँ प्रत्येक महिना दिने नै छौ,” महिलाले भनिन् ।

“हो, म पक्कै गर्नेछु ।”

“मलाई चालीस लाख पनि नदिनुहोस् यदि छैन भने” महिलाको स्वरमा पुरानो सम्बन्धको भक्याई थियो।

पुरुषले उनको अनुहार हेरिरह्यो ….!

कत्ति सह्रदय र सुन्दर देखिन्थिन्, अगाडि बसेकी महिला, जो कुनै बेला त्यसकी आफ्नै श्रीमती थिइन्।

महिलाले पुरुषलाई हेरिरहेकी थिईन् र सोचिरहेकी थिईन्, “कति सरल स्वभावको छ यो मान्छे, जो कुनै बेला उसको लोग्ने हुन्थ्यो । उनलाई कति माया गर्थ्यो … एक पटक नदीमा नुहाऊँदा मेरो खुट्टा चिप्लिएर म पानीमा बग्न लागेकी थिएँ, पागल जस्तै नदीमा हाम फालेर मलाई बचाउन आएको थियो, आफूलाई पौड़ी खेल्न न आऊँदा पनि ! मलाई बचाउन खोजिरहेको थियो … कस्तो राम्रो … मैले मात्रै उसमा गल्ती खोजी रहन्थें ।”

पुरुषले महिलालाई हेरिरहेको थियो र सोची रहेको थियो, “कति ख्याल गर्थिन मेरो, पानी उमालेर जगमा राखी दिने गर्थिन् । सँधै मेरो लागि इनहेलर किनेर ल्याई दिने गर्थिन् , सेरेटाइड आक्यूहेलर धेरै महँगो थियो । हरेक महिना लोभ गरेर पैसा बचाऊँथिन् र आक्यूहेलर किनेर ल्याऊँथिन् मेरो लागि । अरूको रोगको कसलाई वास्ता हुन्छ र ? उनी ख्याल गर्छिन् ! कहिले पनि थाहै न दिई । कति धेरै अनुकम्पा थियो । म मेरो पुरुषार्थले मातेको थिएँ । हे दैब, यसको आत्मालाई किन बुझ्न सकिन होला ?

दुबै चुप लागेका थिए, एकदम चुप ।

संसार भरिका आवाजहरुबाट स्वतन्त्र भएर एकदम मौन !

दुबै भिजेको आँखाले एक अर्कालाई हेर्दै ….

“एउटा कुरा भन्नु छ,” उसको आवाज हिचकिचायो।

“भन्नुहोस्” महिलाले नाजुक आँखाले उसलाई हेरिन् ।

“डर लागि रहेको छ” पुरुषले भन्यो ।

“नडराउनुहोस् । हुनसक्छ तपाईंले भन्ने कुरा मेरै मनको कुरा पो हो कि” महिलाले भनिन्।

“तिम्रो धेरै माया लाग्थ्यो” पुरुष भक्भक्यायो।

“तपाईंको पनि” महिलाको पनि रुने जस्तो स्वर भयो ।

“म अझै तिमिलाई माया गर्छु।”‘

“म पनि।” महिलाले भनिन्।

दुबैका आँखा एकदम सजल भए ।

दुबैको आवाज भावनात्मक र अनुहार निर्दोष ।

“के हामी दुवैले जीवनलाई नयाँ मोड दिन सक्दैनौं ?” पुरुषले सोध्यो ।

“सक्छौं !” महिलाको अनुहार चम्कियो । यति भन्दै आफ्नो ब्याग बाट तलाकका कागज़हरु झिकेर बीचबाट च्यातेर आधा उसलाई दिईन् ।

दुबैले सँगै मिलेर तीं सम्वन्ध विच्छेदका कागजहरू टुक्राटुक्रा पारे । दुबै उठे, एक अर्काको हातमा हात राखेर मुस्कुराए । दुबै पक्षका आफन्तहरू छक्क परे । दुबै पति र पत्नी सँगै घरतिर लागे । त्यो घर जो केवल श्रीमान् र श्रीमतीको मात्र थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 1 महिना अगाडी 245 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्