कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ जान थालेका छन् । पाँच महिनाअघि कैयौँ दिन पैदल हिँडेर घर फर्केका उनीहरू लामो लकडाउन र अहिले निषेधाज्ञाले दैनिकी चलाउन मुस्किल भएपछि बाध्य भएर भारततर्फ जान लागेको बताउँछन् । 

वैशाखको अन्तिमतिर घर फर्केका बैतडीको सिगास गाउँपालिका– ९, गन्सुरका लोकेन्द्रबहादुर धामी बुधबार बिहान कैलालीको त्रिनगर भन्सार नाका खुल्ने पर्खाइमा थिए । दैनिक एक हजारको हाराहारीमा संक्रमित देखिँदा डराएर घर फर्केका उनी अहिले दैनिक ७० हजारको हाराहारीमा संक्रमित थपिँदै गर्दा भने रोजगारीका लागि पुनः भारततिरै लागेका छन् । चार महिना गाउँमा बेरोजगार बस्दा गुजारा गर्नै अप्ठ्यारो भएपछि भारत फर्कनुपरेको उनले सुनाए । 

लोकेन्द्र पाँच वर्षदेखि भारतको राजधानी दिल्लीस्थित एक ‘सपिङ कम्प्लेक्स’मा सुरक्षागार्डको रूपमा काम गर्दै आएका छन् । ‘भारतमा कोरोना फैलन थालेपछि डरले घर फर्किएको थिएँ । अहिले त्योभन्दा झन् बढी कोरोना फैलिरहेको छ । तर, गाउँमा चार महिनासम्म केही काम पाइनँ,’ बुधबार बिहान सीमानाका काट्दै गर्दा उनले भने, ‘बेरोजगार बस्दा घरपरिवार पाल्न पनि समस्या हुन थाल्यो । त्यही भएर पुरानै काममा जान लागेको हुँ ।’ दिल्लीबाट साहुले पनि फोनमा काम गर्न आउन भनेको उनले सुनाए । निषेधाज्ञामा सार्वजनिक सवारीसाधन बन्द रहेकाले उनीसहित चारजना १० हजार रुपैयाँमा गाडी बुकिङ गरेर बैतडीबाट बुधबार बिहानै धनगढी पुगेका थिए । 

हिजोआज दैनिक ७०–८० हजार कोरोना संक्रमण देखिइरहेको समाचार रेडियोमा सुनेका कैलालीका डबलबहादुर दमाईंलाई भारत जाने इच्छा छैन । परिवार पाल्नकै लागि भारत जान लागेको उनले सुनाए । कैलालीको बर्दगोरिया गाउँपालिका–५, बैदीपुरका डबलले संसारभर कोरोना महामारीको त्रास फैलिएका वेला भारत जानु रहर नभई बाध्यता भएको बताए । 

उनी पनि कोरोना भाइरसको संक्रमण बढेपछि गत फागुनमा भारतबाट स्वदेश फर्किएका थिए । चार वर्षदेखि पन्जाबको लुधियानामा निजी गाडी चलाउँदै आएका छन् । त्यसअघि पनि भारतका विभिन्न ठाउँमा सात वर्षजति मजदुरी गरेका थिए । ‘त्यही कामका भरमा आमा–बुबा, श्रीमती, छोराछोरी, भाइबहिनीसहित १० जनाको परिवार पाल्नुपर्छ,’ नाका पार गर्ने हतारोमा रहेका डबलले भने, ‘महामारीको वेला घरमा बस्न त कसलाई मन लाग्दैन । तर, यहाँ बसेर काम पाइएलाजस्तो लागेन । कोरोनाको डर लागे पनि परिवार पाल्न भारत फर्कनैप¥यो ।’ स्वदेशमै गाडी चलाउने काम खोजेको भए पनि ६ महिनासम्म नपाएको उनले सुनाए । 

डोटीको घाङलका वीरबहादुर साउद त नाबालक छोरीसहित परिवारै लगेर भारत जान बुधबार बिहान नेपाल–भारत नाका त्रिनगर पुगेका थिए । पत्नी र छोरीलाई लिएर भारत जान लागेको उनले गाउँमा बस्दा बिहान–बेलुकाको छाक टार्नै गाह्रो भएपछि भारत फर्किन लागेको बताए । भारतको लुधियानास्थित कपडा कम्पनीमा १५ वर्षदेखि ‘सेल्सम्यान’को काम गर्दै आएका उनी वैशाखमा स्वदेश फर्किएका थिए । त्यतिवेला कोरोनाका कारण कम्पनी बन्द भएको थियो भने उनलाई पनि घर फर्किए सुरक्षित भइएला भन्ने लागेको थियो । 

यता गाउँमा केही काम नमिलेको र उता कम्पनी पनि खुलेकाले फर्किन लागेको उनले बताए । ‘कम्पनी खुलिसकेकाले आउनु भन्ने खबर आयो । यता घरमा बेरोजगार बस्नुभन्दा काम गरे दुई–चार पैसा कमाइला,’ वीरबहादुरले भने, ‘कोरोनाको डर मानेर पनि के गर्नु ? परिवार पाल्नका लागि भए पनि काम त गर्नैप¥यो ।’ स्वदेशमा जागिर नपाउँदा आम्दानीको स्रोत र कमाइखाने जग्गाजमिन पनि नभएपछि उनी डेढ दशकअघि भारत पसेका थिए । भारतको रोजगारीमै परिवार निर्भर रहेकाले कोरोनाको महामारी भए पनि उतै लाग्न बाध्य भएको उनले बताए । 

बेरोजगार बस्दा छाक टार्नसमेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको उनीहरूको भनाइ छ । रोजगारीकै लागि भारत जान लागेका बझाङको केदारस्युँ गाउँपालिकाको देउराका भरत विष्टले महामारीको त्रास फैलिएका वेला काम खोज्न अर्काको देश जानु रहर नभएको बताए । ‘साँझ–बिहान छाक टार्ने समस्या नभएको भए यस्तो महामारीका वेला विदेश जाने रहर थिएन,’ भरतले भने, ‘यस्तो त्रासका वेला परिवारसँग घरमै बस्ने इच्छा कसलाई नहोला र ? स्वदेशमा सामान्य काम पनि नपाएपछि बिदेसिनुप¥यो ।’ उनी गत नौ वर्षदेखि भारतको बेंग्लोरमा निजी गाडी चलाउँदै आएका छन् । 

उनीहरूजस्तै कोरोनाका कारण गत फागुनदेखि वैशाखसम्म घर फर्किएका सुदूरपश्चिमका बासिन्दा रोजगारीका लागि फेरि भारत जान लागेका हुन् । दुई सातायता भारत फर्किनेहरूको ताँती लाग्न थालेको छ । अहिले भारतमा कोरोना संक्रमण दर बढिरहेको जानकारी भए पनि उनीहरू कामका लागि स्वदेश छोड्न विवश भइरहेका छन् । गाउँमा लामो समय बेरोजगार बस्दा दैनिक छाक टार्न पनि समस्या हुन थालेपछि महामारीकै वेला भारत फर्किन परिरहेको उनीहरूले बताउँछन् । भारत जानेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । 

त्रिनगर नाकाबाट १३ सय नेपाली भारत गए

दुई सातायता भारत जाने क्रम बढ्न थालेको छ । त्रिनगर नाकामा ओहोरदोहोर गर्नेको विवरण संकलन गरिरहेको सशस्त्र प्रहरीका अनुसार १० असारयता यो नाकाबाट एक हजार तीन सय पाँच नेपाली भारत गएका छन् । बुधबार एक सय ८७ र मंगलबार ६ सय १० जना नेपाली त्रिनगर नाकाबाट भारत गएको सशस्त्र प्रहरीको तथ्यांक छ । 

सशस्त्र प्रहरीको तथ्यांकअनुसार नेपाली र भारतीय नागरिकसमेत गरी असारदेखि १० भदौसम्म यो नाकाबाट साढे सात हजार र जेठदेखि अहिलेसम्म गड्डाचौकी नाकाबाट सात हजारजना भारत गएका छन् । अहिले भारत जानेमध्ये अधिकांश नेपाली हुने गरेका सशस्त्र प्रहरी बल ३५ नम्बर गण कञ्चनपुरका डिएसपी देवबहादुर चन्दले बताए । सीमानाका बन्द रहेकाले कानुनतः नेपालीले भारत जान नपाइने भए पनि भारतीय परिचयपत्र खुल्ने कागजात भएका नेपाली जाने गरेका उनले बताए ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सीमानाका बन्द गरिएकाले नेपालीलाई भारत र भारतीयलाई नेपाल आउन–जान प्रतिबन्ध गरिएको छ । आधार कार्ड, रासन कार्डलगायत भारतीय परिचय खुल्ने कागजात देखाएपछि नेपालीलाई सीमामा खटिएका भारतीय सुरक्षाकर्मीले प्रवेशको अनुमति दिने गरेका छन् । एउटै ठाउँमा लामो समय काम गरेका कतिपयको काम गर्ने ठाउँको मालिकले भारतीयको परिचय खुल्ने ‘आधार कार्ड’ र ‘रासन कार्ड’ बनाइदिन्छन् । लामो समय भारतमा काम गरेका धेरैजसो नेपालीसँग यी कार्डहरू हुने गरेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांकअनुसार गत फागुनयता सुदूरपश्चिमका विभिन्न नाका भएर साढे दुई लाखभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किएका थिए । कतिपय कोरोनाको त्रासले तथा कतिपय कोरोनाले कार्यस्थल बन्द भएपछि रोजगारी गुमाएर फर्किएका थिए । सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जाने संख्या ठूलो छ । उनीहरूको यकिन तथ्यांक भने सरकारसँग छैन ।

भारतमा अधिकांश नेपाली न्यून ज्यालामा कठिन काम गर्ने गरेका वैदेशिक रोजगारका क्षेत्रमा काम गर्नेहरू बताउँछन् । कुनै वेला लामो समय भारतमा काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहीँ रोजगारीका अवसरहरू सिर्जना गरेर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउँदै आएका छन् । तर, प्रदेशमा रोजगारी सिर्जना गर्ने योजना र कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन् । 

 प्रा.डा. हेमराज पन्त भन्छन्– देशकै लागि लज्जाको विषय

सुदूरपश्चिमको सामाजिक तथा आर्थिक विषयका जानकार प्रा.डा. हेमराज पन्त विश्वमै सबैभन्दा बढी संक्रमण फैलिएको मुलुकमा यतिवेला रोजगारीका लागि नेपाली भारत जानु राजनीति गर्नेहरूका लागि लज्जाको विषय भएको बताउँछन् । ‘अहिले भारतमा विश्वमै सबैभन्दा बढी संक्रमण फैलिएको छ । यतिवेला भारत जानु भनेको कालको मुखमा जानुजस्तै हो,’ प्रा.डा. पन्तले भने, ‘यहाँ खान पनि नपुगेपछि मरे पनि उतै मरुलाँ भनेर नेपाली भारत जाँदै छन् । राजनीति गर्ने र हामी सबैका लागि पनि लज्जाको विषय हो ।’ 

प्रदेश सरकारले पनि रोजगारी सिर्जनाका लागि अहिलेसम्म कुनै काम गर्न नसकेको उनको भनाइ छ । ‘एकैचोटि भारतमा गएका सबैलाई रोजगारी दिन नसकिएला, तर थोरैलाई दिने सुरुवात पनि हुन सकेन,’ प्रा.डा. पन्तले भने । कोरोना महामारीले स्वदेश फर्केको युवा जनशक्तिलाई उद्यम र देश निर्माणमा लगाउनुपर्ने उनको सुझाब छ ।

अब सहुलियत दरमा पुँजी उपलब्ध गराएर रोजगारी सिर्जना र्छौँ : मन्त्री बोहरा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बेरोजगार युवालाई लक्षित गरेर सरकारले यस वर्ष रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू लागू गर्ने बताए । तालिम तथा धितोविना ऋण दिएर बेरोजगारलाई स्वरोजगार बनाउन सरकारले डेढ अर्बको स्वरोजगार विकास कोष स्थापना गरेको उनले बताए । यस्तै, उद्यम गरिरहेका र उद्यम गर्न चाहनेलाई सहुलियत दरमा पुँजी उपलब्ध गराउन एक अर्बको पुनर्कर्जा कोष पनि यस वर्ष कार्यान्वयन गरिने उनको भनाइ छ । यसले भारत तथा तेस्रो मुलुकबाट फर्केका यहाँ बेरोजगार रहेकाहरू लाभान्वित हुने मन्त्री बोहराको भनाइ छ । 

अन्तिम पटक अध्यावधिक गरिएको 3 हप्ता अगाडी 2483 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्