काठमाडौं : आकर्षक गीत बन्न शब्द, संगीत र स्वर त चाहिन्छ नै; त्यसमाथि अहिले भिडियोका लागि सुन्दर लोकेसन, शब्दअनुसारको ड्रेसअप, कोरियोग्राफी अनि स्टोरीको प्लट पनि त्यति नै आवश्यक पर्छ। यी सबैको समायोजन गर्दै निर्माण भएको ‘माया नयनी ताल’को म्युजिक भिडियो सोमबार युट्युबमार्फत अलि फरक ढंगमा दर्शक– श्रोतामाझ ल्याइएको छ।

म्युजिक भिडियोमा अहिले टिकटकबाट चर्चा कमाएका मोडलको बाहुल्य बढ्न थालेसँगै यो भिडियोमा पनि यसैबाट शिखर चढ्न थालेका सुधीर श्रेष्ठ र रियशा दाहाललाई फिचर गरिएको छ। उनीहरूलाई गायक सरोज साजन श्रेष्ठ र अर्का मोडल सुशील रेग्मीले साथ दिएका छन्। मायाको नयनी तालमा डुब्न आइपुगेका उनीहरूलाई निर्देशक विधान कार्कीले मायाको स्वाद चखाएका छन्।

गायककै शब्द, संगीत तथा स्वर ‘माया नयनी ताल’मा अर्की मोडल अनामिका बाराकोटी पनि देखिएकी छन्। पेसाले इन्जिनियर सुशीलले यसमा आफ्नो भाग्य आजमाएका छन्। प्रेम रेग्मीको लगानीमा तयार भएको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ।

लोकपप फ्युजनमा तयार भएको गीतको भिडियोमा एक युवतीको प्रेममा परेका युवाको मनोभावना समेटिएको छ। निर्देशक कार्कीले भिडियोलाई फिल्मी रूप दिएका छन्। ललितपुर र काठमाडौंमा छायांकन भएको भिडियोमा सुरेन बसेलको नृत्य निर्देशन र दिपेन गौतमको निर्माण नियन्त्रण रहेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 3 हप्ता अगाडी 2483 जनाले हेर्नुभएको

प्रतिक्रिया दिनुहोस्