
कोरोना संक्रमणकाकारण पोखरा महानगरपालिका १६ जोगीमणि मार्गका ८३ वर्षीय वृद्धको मृत्यु भएको छ। पोखरा २० भलाम डाडागाउँ स्थायी घर भई हाल पोखराको तल्लोदिप स्थित जोगिमणि मार्ग मा बस्दै आएका ती वृद्धको आज साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।
गत असोज १३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।मृतक पुरुष हाइपरटेन्सन, डाइबिटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए ।
कोरोना संक्रमणका कारण आजसम्म साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ जनाको ज्यान गएको छ।

यसैबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराका ५ सहित गण्डकी प्रदेशमा बिहीबार थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार पोखरामा संक्रमित हुनेहरुमा पोखरा -१७ का २ जना पुरुषसहित पोखरा- ४,६ र १० का एक एक जना पुरुष रहेका छन ।
प्रदेशमा, बर्दघाट सुस्तापूर्व नवलपरासीमा २७ जना, बाग्लुङ्मा १२ जना, पोखराका ५ जना, लमजुङ् र तनहुँका एक एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बिहिबार थप संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ४ सय ४७ पुगेको छ ।