खसीका कारण डीएसपी शाहीलाई तनाब


बाँके जिल्लामा नेपाल तरुण दलका नेताहरूसँग दशैँमा खसी माग्ने नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही शुरु भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । समितिको सिफारिससँगै शाहीलाई तनाब बढेको छ ।

नेपाल तरुण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरीत डीएसपी शाहीले खसी मागेको आरोप पुष्टि भएपछि कारबाहीको सिफारिस भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रदेश नम्बर ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाएको छ ।

प्रहरी आचरणविपरीत डिएसपी र प्रहरी नायब निरीक्षक (सई) सुरेन्द्रकुमार पन्तले खसी मागेको प्रतिवेदनले देखाएको छ । दुवैलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइनेछ ।

प्रहरी आचरणमा विभागीय कारबाही अन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड रोक्का, बढुवा रोक्का तथा कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था छ ।

साधारणतया, यस्तो विवाद आएपछि प्रहरी प्रधान कार्यालय वा प्रदेश प्रहरीले तुरुन्त पोस्टिङबाट हटाउने पनि गर्छन् ।

पन्तले खड्कासँग सुरूमा खसी मागेको र त्यही फोन डिएसपी शाहीलाई दिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्